काठमाडौँको वायु प्रदूषण अस्वस्थकर, आइतबारसम्म कायम रहने अनुमान

काठमाडौँको वायु प्रदूषण अस्वस्थकर, आइतबारसम्म कायम रहने अनुमान

काठमाडौँ । सुक्खा मौसम सुरु भएसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर मापन गर्ने स्विट्जरल्यान्डस्थित संस्था आईक्यूएयरका अनुसार शुक्रबार बिहान उपत्यकाको वायु गुणस्तर अस्वस्थकर तहमा पुगेको छ। यस्तो अवस्था आगामी आइतबारसम्म कायम रहने पूर्वानुमान गरिएको छ।

आईक्यूएयरका अनुसार शुक्रबार बिहान काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) १११ मापन भएको छ। बिहीबार मध्यबानेश्वर क्षेत्रमा एक्यूआई १५३ सम्म पुगेको थियो भने शुक्रबार बिहान सवा ९ बजेसम्म उक्त क्षेत्रमा १२७ मापन गरिएको छ।

काठमाडौँ महानगरपालिकाको एयर क्वालिटी मनिटरिङ ड्यासबोर्डअनुसार स्वयम्भू, बालाजु, टेकु, डल्लु, थापाथली, क्षेत्रपाटी, जडीबुटी, असन, कमलादी, शान्तिनगर, चाबहिल, लैनचौर र हाँडीगाउँलगायत क्षेत्रमा वायुको गुणस्तर अस्वस्थकर देखिएको छ। महानगरपालिकाले प्रदूषण बढाउने गतिविधि नगर्न सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

सुक्खा मौसममा वर्षा कम हुनु, हावामा धुलोका कण बढ्नु तथा प्रदूषण नियन्त्रण प्रभावकारी नहुनुले उपत्यकाको वायु गुणस्तर खस्किने गरेको छ। विशेषगरी हावामा रहेका २.५ माइक्रोमिटरभन्दा साना सूक्ष्म कण (पीएम २.५) मानव स्वास्थ्यका लागि बढी जोखिमपूर्ण मानिन्छन्। यस्ता कण फोक्सोसम्म पुग्न सक्ने भएकाले श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्छन्।

प्रदूषित हावाको प्रभाव बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका बिरामी तथा दीर्घरोगीमा बढी पर्ने भएकाले उनीहरूलाई विशेष सावधानी अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाव दिँदै आएका छन्।

दिल्लीमा प्रदूषणको अवस्था झन् भयावह

यता छिमेकी भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको अवस्था झन् गम्भीर बनेको छ। भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार शुक्रबार बिहान ८ बजे दिल्लीको एक्यूआई ४२२ पुगेको छ।

दिल्लीका विभिन्न क्षेत्रमा पनि प्रदूषणको स्तर अत्यधिक देखिएको छ। जवाहरलाल नेहरू स्टेडियम क्षेत्रमा एक्यूआई ४२१, नजफगढमा ४१४ र चाँदनी चोकमा ३९१ मापन गरिएको छ।

सीपीसीबीका अनुसार एक्यूआई ४०१ देखि ५०० सम्म पुग्नु गम्भीर अर्थात् ‘सिभियर’ अवस्था हो। यस्तो प्रदूषित हावाले स्वस्थ व्यक्तिको स्वास्थ्यमा समेत असर पार्न सक्छ भने बिरामीहरूमा थप जटिलता निम्त्याउन सक्छ। दिल्लीको अवस्थाले दक्षिण एसियाली सहरहरूमा बढ्दो वायु प्रदूषणको जोखिमलाई समेत उजागर गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP