बैंकिङ सङ्कटपछि पाराग्वेका राष्ट्रपति पेनाले दिए राजीनामा, महाभियोग प्रक्रिया पनि अघि बढ्यो

बैंकिङ सङ्कटपछि पाराग्वेका राष्ट्रपति पेनाले दिए राजीनामा, महाभियोग प्रक्रिया पनि अघि बढ्यो

पाराग्वे । बैंकिङ सङ्कटका कारण लाखौँ नागरिकको बचत रकम रोकिएपछि चर्किएको जनआक्रोश र राजनीतिक दबाबबीच पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले राजीनामा दिएका छन्। डिजिटल बैंक युएनोको पतनपछि उत्पन्न आर्थिक तथा राजनीतिक सङ्कटका कारण उनले बिहीबार राजीनामा घोषणा गरेका हुन्।

पाराग्वेको केन्द्रीय बैंकले पुँजी पर्याप्तता न्यूनतम कानुनी सीमाभन्दा निकै तल झरेको भन्दै युएनो बैंकलाई आफ्नो नियन्त्रणमा लिएपछि करिब ३० लाख ग्राहक प्रभावित भएका छन्। बैंकका ग्राहकले आफ्नो खातामा रहेको रकम निकाल्न तथा कारोबार गर्न नपाएपछि देशभर आक्रोश फैलिएको हो। बैंकमा सर्वसाधारणको बचतसँगै सरकारी तथा पेन्सनसम्बन्धी ठूलो रकमसमेत रहेको छ।

बैंकिङ सङ्कटपछि राजधानी असुनसियोनमा हजारौँ नागरिक सडकमा उत्रिएर आफ्नो बचत रकम फिर्ता गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकारीले संसद् भवनबाहिर समेत नाराबाजी गरेका थिए। यसअघि प्रहरीसँग भएको झडपमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरिएको थियो।

यस घटनामा राष्ट्रपति पेनामाथि स्वार्थको द्वन्द्व, पदको दुरुपयोग र बैंकलाई अनुचित संरक्षण दिएको आरोप लागेको छ। उनी यसअघि युएनोको मातृ कम्पनीसँग सम्बन्धित व्यवसायमा सेयरधनी रहेका थिए। विपक्षी तथा सत्तारूढ दलकै केही सांसदले समेत उनको भूमिकामाथि प्रश्न उठाउँदै महाभियोग प्रक्रिया अघि बढाएका हुन्।

राष्ट्रपति पेनाले राजीनामा घोषणा गर्दै देशको स्थिरता, सामाजिक शान्ति र लोकतान्त्रिक संस्थाको संरक्षणका लागि यस्तो निर्णय लिएको बताएका छन्। उनले निक्षेपकर्ताको रकम सुरक्षित रूपमा फिर्ता गराउनु आफ्नो प्रमुख प्राथमिकता रहेको पनि उल्लेख गरेका छन्।

पेनाको राजीनामा घोषणापछि पाराग्वेको तल्लो सदनले उनीविरुद्धको महाभियोग प्रस्ताव सर्वसम्मतिले अघि बढाएको छ। अब उक्त प्रक्रिया माथिल्लो सदनमा जानेछ। राष्ट्रपति पद रिक्त भए उपराष्ट्रपति पेड्रो एलियानाले नेतृत्व सम्हाल्ने व्यवस्था छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP