चर्चामा
कास्की । पोखरा महानगरपालिकाले तिहारलाई लक्षित गर्दै सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण गरेको छ। महानगरले फूलको सहज बिक्रीवितरण र उपभोक्तालाई उचित मूल्यमा उपलब्ध गराउने उद्देश्यले पोखराका १७ स्थानमा बिक्री केन्द्र तोकेको हो।
महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार सयपत्री फूलको मूल्य प्रतिकिलो ५०० रुपैयाँ र प्रतिमाला २०० रुपैयाँ कायम गरिएको छ। निर्धारित मूल्य आगामी आइतबारदेखि लागू हुनेछ।
महानगरले पोखरा-१ को देवी पञ्चाङ्ग ज्येष्ठ नागरिक मिलन केन्द्र र टुँडीखेलको पुरानो वडा कार्यालय, पोखरा-२ को सङ्गमचोक कृषि बजार चौतारी, वडा नं. ५ को वडा कार्यालय परिसर, वडा नं. ६ को सुलभ उपभोक्ता सहकारी, वडा नं. ९ को महेन्द्रपुल फल्चा तथा पृथ्वीचोकस्थित पोखरा कोसेली घरलाई बिक्रीस्थल तोकेको छ।
त्यस्तै, सिद्धार्थचोक चौतारी, पोखरा रङ्गशाला, किसान बजार, विभिन्न वडा कार्यालय परिसर, ठूलीपोखरी किसान बजार, विरौटाको किसान बजार, खुदीको किसान बजार, कोट देउराली बहुउद्देश्यीय कृषि सहकारी र तालचोकस्थित कृषिउपज थोक बजारमा पनि फूल बिक्री गरिनेछ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महानगरले प्लास्टिकजन्य फूल तथा माला बिक्रीवितरण नगर्न व्यवसायीलाई आग्रह गरेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीमा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायीले पोखरामा फूल उत्पादन तथा बिक्री गर्दै आएका छन्।
यसैबीच, पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सञ्चालन भइरहेको छ। बुधबारदेखि सुरु भएको प्रदर्शनीमा फूलका २२, कृषि सामग्रीका तीन र सूचनामूलक एक गरी २६ वटा प्रदर्शनीकक्ष राखिएका छन्। प्रदर्शनीले स्थानीय किसानलाई बजार उपलब्ध गराउनुका साथै उपभोक्तालाई फूल तथा बिरुवा खरिद गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!