एनपीएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिम-कर्णाली र चितवन-खरा भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिम-कर्णाली र चितवन-खरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। आज पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स तथा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ। दोस्रो खेल अपराह्न ५ बजे हुनेछ।

पहिलो खेलमा कर्णाली याक्स तेस्रो जितको खोजीमा मैदान उत्रनेछ। तीन खेल खेलेको कर्णालीले दुई जित र एक हार बेहोरेको छ। लगातार दुई जित निकालेको कर्णाली पछिल्लो खेलमा काठमाण्डु गोर्खाजसँग पराजित भएको थियो।

यता सुदूरपश्चिम रोयल्स पनि जित निकाल्दै अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्ने योजनामा छ। चार खेल खेलेको सुदूरपश्चिमले दुई जित र दुई हार बेहोरेको छ। टोली आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।

आजको दोस्रो खेलमा जितविहीन पोखरा एभेन्जर्सले चितवन राइनोजको सामना गर्नेछ। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीनवटै खेल गुमाएको छ। त्यसैले आज चितवनलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकाल्ने दबाब पोखरामाथि छ।

अर्कोतर्फ चितवन राइनोज पोखरालाई हराएर प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ। चार खेल खेलेको चितवनले दुई जित, एक हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ।

यस संस्करणको एनपीएलमा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP