विश्वमा द्वन्द्व होइन, संवाद र सहकार्य आवश्यक : एमाले सचिव शेरधन राई

विश्वमा द्वन्द्व होइन, संवाद र सहकार्य आवश्यक : एमाले सचिव शेरधन राई

काठमाडौं । नेकपा एमालेका सचिव शेरधन राईले परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माण, संवाद र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

दक्षिण कोरियाको राजधानी सोलमा जारी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १३औँ महासभालाई सम्बोधन गर्दै उनले विश्वका चुनौती समाधानका लागि द्वन्द्वभन्दा संवाद र विभाजनभन्दा सहकार्य आवश्यक रहेको बताएका हुन्।

नेपालको परराष्ट्र नीति ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै राईले सबै राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकताको सम्मान गर्नुपर्नेमा जोड दिए। भारत र चीनजस्ता दुई ठूला छिमेकीबीच रहेको नेपालले दुवै देशसँग मैत्रीपूर्ण सम्बन्धलाई महत्त्व दिँदै आएको उनको भनाइ थियो।

उनले अन्तर्राष्ट्रिय सम्बन्धले आम नागरिकको जीवनमा प्रत्यक्ष लाभ पुर्‍याउनुपर्ने बताए। युवाका लागि रोजगारी, व्यवसायीका लागि अवसर, विद्यार्थीका लागि शिक्षा तथा प्रविधि र श्रमिकका लागि सुरक्षा एवं सम्मान सुनिश्चित हुनुपर्ने उनको धारणा थियो। नेपालमा जलविद्युत् र स्वच्छ ऊर्जाको सम्भावना रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी र प्रविधिको स्वागत गरिने बताए।

सम्बोधनका क्रममा राईले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए। भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनमा न्यून योगदान गर्ने नेपालजस्ता मुलुकले नै बढी क्षति बेहोर्नुपरेको बताए।

जलवायु परिवर्तनबाट प्रभावित मुलुकलाई सहानुभूतिमात्र नभई व्यावहारिक सहयोग, प्रविधि र लगानी आवश्यक रहेको उनको भनाइ थियो। फरक राजनीतिक विचार, भाषा र संस्कृति भएका देशहरूबीच पनि संवाद र सहकार्य कायम राख्नुपर्नेमा जोड दिँदै उनले शान्तिपूर्ण र सुरक्षित भविष्य निर्माणका लागि विश्व समुदायलाई साझा प्रयास गर्न आग्रह गरे।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP