चर्चामा
बारा । वीरगञ्ज महानगरपालिकाले सोलार पोलमा विज्ञापन बोर्ड राख्न दिएको ठेक्का प्रक्रियामा अनियमितताको आशंका उठेको छ । ठेक्काका लागि आवेदन दिएको पुनम आर्टस्ले सुरुमा ४५ लाख रुपैयाँ कबोल गरेकोमा बोलपत्रमा केरमेट गरी ५४ लाख बनाइएको भेटिएपछि विवाद सिर्जना भएको हो ।
महानगरले गत भदौ २७ गते २३० वटा सोलार पोलमा विज्ञापन बोर्ड राख्न तीन वर्षका लागि ठेक्का आह्वान गरेको थियो । न्यूनतम १० लाख ३५ हजार रुपैयाँ तोकिएको उक्त ठेक्कामा १८ लाखदेखि ५४ लाख रुपैयाँसम्म कबोल गर्दै सातवटा कम्पनीले आवेदन दिएका थिए ।
पुनम आर्टस्ले पेस गरेको बोलपत्रमा अङ्कमा सुरुमा ४५ लाख लेखिएको देखिन्छ । पछि उक्त रकम केरमेट गरी ५४ लाख बनाइएको छ । तर अक्षरमा भने ‘पैतालिस लाख’ नै उल्लेख छ । अङ्क र अक्षरमा फरक देखिएपछि अन्य प्रतिस्पर्धीले आपत्ति जनाउँदै बोलपत्रमा चलखेल भएको आशंका गरेका छन् ।
महानगरको राजस्व महाशाखा प्रमुख सुनिल आचार्यले भने बोलपत्र खोल्दा नै केरमेट भएको विषय मुचुल्कामा उल्लेख गरिएको दाबी गरेका छन् । मूल्याङ्कन समितिले अङ्क र अक्षरमा फरक परेको विषयसहित बोलपत्र प्रभावग्राही रहेको निष्कर्ष निकाल्दै पुनम आर्टस्लाई ठेक्का स्वीकृतिका लागि सिफारिस गरेको छ ।
महानगरले कात्तिक १७ गते उच्चतम कबोल गर्ने कम्पनीहरूको सूची सार्वजनिक गरेको थियो । यद्यपि, ठेक्कासम्बन्धी सम्झौता भने भइसकेको छैन । बोलपत्रमा भएको केरमेट कसले र कुन अवस्थामा गरेको हो भन्ने विषय स्पष्ट हुन बाँकी रहेकाले ठेक्का प्रक्रियाको पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठेको छ ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!