अब विमानस्थलमै बसेर यात्रुले हेर्न पाउनेछन् आफ्नो सामान कहाँ पुग्यो

अब विमानस्थलमै बसेर यात्रुले हेर्न पाउनेछन् आफ्नो सामान कहाँ पुग्यो

काठमाडौं । विदेशबाट नेपाल आउने यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो सामानको अवस्थाबारे जानकारी लिन अब लामो समय कुर्नुपर्ने छैन। विमानबाट सामान झार्ने प्रक्रियादेखि ब्यागेज बेल्टसम्म पुर्‍याउने काम यात्रुले आगमन कक्षमै बसेर प्रत्यक्ष हेर्न पाउने भएका छन्।

विमानस्थलले ब्यागेज व्यवस्थापन भइरहेको क्षेत्रको लाइभ दृश्य आगमन कक्षमा देखाउने नयाँ व्यवस्था सुरु गरेको हो। यसका लागि ब्यागेज क्लेम क्षेत्रमा स्क्रिन राखिएको छ, जहाँबाट यात्रुले विमानबाट सामान झारिरहेको दृश्य प्रत्यक्ष हेर्न सक्नेछन्।

यसअघि विमानबाट सामान झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्न कति समय लाग्छ भन्नेबारे यात्रुलाई स्पष्ट जानकारी हुँदैनथ्यो। सामान आउने प्रतीक्षामा यात्रुहरू अन्योलमा बस्नुपर्ने अवस्था थियो। नयाँ व्यवस्थाले सामान झार्ने काम कहाँ पुगेको छ भन्ने थाहा पाउन सहज हुने र आफ्नो लगेज आइपुग्ने समयसमेत अनुमान गर्न सकिने अपेक्षा गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यो व्यवस्थाको उद्देश्य विमानस्थलको सेवा थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउनु हो।

नयाँ प्रविधिको प्रयोगले यात्रुको प्रतीक्षा सहज बनाउनुका साथै विमानस्थलमा ब्यागेज व्यवस्थापनको कामलाई पनि थप पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP