चर्चामा
लामो समयदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व प्रमाणित हुने कागजातको प्रतीक्षामा रहेका कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले अन्ततः लालपुर्जा पाएका छन्।
कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं. १, ७ र ९ का जग्गाधनीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको हो।
नगरपालिकाका अनुसार वडा नं. १ का ७३, वडा नं. ७ का ४९ र वडा नं. ९ का १३९ परिवारले लालपुर्जा प्राप्त गरेका छन्। उक्त क्षेत्रमा जग्गाको नापजाँच विसं २०७० मै सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा पुर्जा वितरण हुन सकेको थिएन। करिब १३ वर्षपछि प्रक्रिया पूरा गरेर जग्गाधनीलाई प्रमाणपुर्जा उपलब्ध गराइएको हो।
लालपुर्जा प्राप्त गरेपछि स्थानीयवासीले लामो समयदेखिको समस्या समाधान भएको बताएका छन्। ८० वर्षीया स्थानीय मधुरा कुर्मिनीले जीवनको उत्तरार्धमा भए पनि आफ्नो जग्गाको स्वामित्व प्रमाणित हुने कागजात पाउँदा खुसी लागेको बताइन्। वडा नं. ९ का छेदी अहिरले भने पाँच पुस्तादेखि आफ्नो परिवारले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा बल्ल प्राप्त भएको बताए।
कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले नगरपालिकाभित्र रहेका सबै गाउँब्लक जग्गाधनीलाई क्रमशः लालपुर्जा उपलब्ध गराउने प्रक्रिया जारी राखिने बताए। उनका अनुसार बाँकी जग्गाको दर्ता प्रक्रिया पनि सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढाइनेछ।
त्यस्तै, कृष्णनगर बजार, बहादुरगञ्ज बजार र सिर्सिहवामा रहेका बहाल बिटौरी जग्गाको लालपुर्जा वितरणका लागि पनि प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। यसका लागि आयोग गठन भएपछि थप काम अगाडि बढाइने नगर प्रमुख शाहले जानकारी दिए।
नापी कार्यालय तौलिहवाका प्रमुख जनक भण्डारीले पुर्जा प्राप्त गरेका जग्गाधनीलाई प्रमाणपत्रमा उल्लेखित आफ्नो नाम, कित्ता नम्बर र क्षेत्रफल ध्यानपूर्वक जाँच गर्न आग्रह गरेका छन्। विवरणमा त्रुटि भए सम्बन्धित कार्यालयमा सम्पर्क गरेर सच्याउन सकिने उनले बताए।
लालपुर्जा प्राप्त भएसँगै वर्षौंदेखि जग्गा भोगचलन गरे पनि कानुनी स्वामित्वको प्रमाण नपाएका परिवारको जग्गामाथिको अधिकार औपचारिक रूपमा स्थापित भएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!