युक्रेनको राजधानी किएभमा रुसको भीषण मिसाइल आक्रमण, दुई जना घाइते

युक्रेनको राजधानी किएभमा रुसको भीषण मिसाइल आक्रमण, दुई जना घाइते

काठमाडौं। रुसले युक्रेनको राजधानी किएभमा शनिबार बिहान ब्यालिस्टिक मिसाइल आक्रमण गरेको छ। आक्रमणमा परी कम्तीमा दुई जना घाइते भएका छन् भने आवासीय भवन तथा बालबालिका पढ्ने विद्यालयमा क्षति पुगेको छ।

किएभका मेयर भिताली क्लित्स्कोका अनुसार रुसी सेनाले राजधानीका विभिन्न पूर्वाधारलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो। मिसाइलका अवशेष पाँचतले आवासीय भवनमा खसेपछि भवनको बाहिरी भागमा क्षति पुगेको छ। अन्य आवासीय भवनका झ्याल तथा संरचनामा समेत क्षति पुगेको छ।

किएभको सैन्य प्रशासनले सोलोमियान्स्की जिल्लामा रहेको एक गैरआवासीय भवनमा आगलागी भएको र बालविकास केन्द्रको भवनसमेत क्षतिग्रस्त भएको जनाएको छ।
 घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि नै रुसले ऊर्जा केन्द्र, पुल तथा अन्य महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी थप आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका थिए।

आक्रमणपछि किएभका विभिन्न क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। अधिकारीहरूले थप मिसाइल आक्रमण हुन सक्ने भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।

यो आक्रमण रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अबुधाबीमा अमेरिका, युक्रेन र रुसका प्रतिनिधिबीच वार्ता सुरु हुनुभन्दा तीन दिनअघि भएको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP