चर्चामा
काठमाडौ ।सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले भीड नियन्त्रणका क्रममा न्यूनतम बल प्रयोग गर्दै अधिकतम संयमता अपनाउन सुरक्षा फौजलाई निर्देशन दिएका छन्।
कार्तिक २० गते काठमाडौंस्थित सशस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्ट निलबाराहीको स्थलगत निरीक्षणका क्रममा आयोजित हुल तथा दंगा व्यवस्थापनसम्बन्धी प्रदर्शन अवलोकन गर्दै महानिरीक्षक पौडेलले भीड नियन्त्रण गर्नु नागरिकसँग भिड्नु वा द्वन्द्व बढाउनु नभई परिस्थितिलाई नियन्त्रणमा लिएर शान्ति र सुव्यवस्था कायम गर्नु भएको बताए।
उनले भीड तथा दंगा नियन्त्रण आन्तरिक सुरक्षा व्यवस्थापनको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै जुनसुकै परिस्थितिमा पनि संगठनको व्यावसायिक दक्षता, निष्पक्षता र कानुनसम्मत कार्यसम्पादन कायम राख्नुपर्ने बताए। सुरक्षा फौज सदैव उच्च सतर्क अवस्थामा रहनुपर्ने उनको भनाइ थियो।
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग, भ्रामक सूचना, अफवाह तथा घृणात्मक अभिव्यक्तिले भीडलाई थप उग्र र हिंसात्मक बनाउन सक्ने भन्दै उनले सूचना सङ्कलन तथा विश्लेषण प्रणाली प्रभावकारी बनाउन र सम्भावित सुरक्षा जोखिमको पूर्वमूल्याङ्कन गरी आवश्यक योजनासहित तयारी अवस्थामा रहन कमान्डरहरूलाई निर्देशन दिए।
मैदानमा खटिने सुरक्षाकर्मीले व्यक्तिगत आवेग, उत्तेजना र पूर्वाग्रहबाट मुक्त भएर काम गर्नुपर्नेमा जोड दिँदै उनले बल प्रयोग गर्दा आवश्यकता, समानुपातिकता, कानुनी आधार र न्यायिक जवाफदेहितालाई ध्यान दिनुपर्ने बताए। बल प्रयोग अन्तिम विकल्पका रूपमा मात्र अपनाउनुपर्ने र गैरघातक तथा कम घातक हतियार एवं प्रविधिको प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ थियो।
त्यस्तै, हुल तथा दंगा नियन्त्रणका क्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष संवेदनशीलता अपनाउन तथा नियन्त्रणमा लिइएका र घाइते भएका व्यक्तिहरूप्रति मानवीय व्यवहार गर्न पनि उनले निर्देशन दिए।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेल, नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयका बाहिनीपति, दंगा नियन्त्रण रेजिमेन्टका कमान्डरलगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!