चर्चामा
काठमाडौं । काग तिहारको अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि २३औँ काग सम्मेलन सम्पन्न गरेका छन्। शनिबार बिहान उनले कागको आवाज निकालेर आकाशमा उडिरहेका सयौँ कागलाई एकै स्थानमा जम्मा पारेका हुन्।
राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिको आयोजना तथा इलामको सन्दकपुर गाउँपालिकाको सह–आयोजनामा सम्मेलन सम्पन्न भएको हो।
काग तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्व उजागर गर्नुका साथै नेपाली मौलिक परम्पराको संरक्षण र चराचुरुङ्गीप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा एनआरएनएका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन मुख्य प्रायोजक, उपाध्यक्ष प्रवीण गुरुङ प्रायोजक तथा पूर्णप्रसाद लामिछाने, राजेश कार्की, रुद्रप्रसाद चापागाईं, शंकरप्रसाद आचार्य, ग्रीन सिटी हस्पिटल र कोरा होलिडेजलगायत सहप्रायोजकका रूपमा रहेका थिए। कार्यक्रमको मिडिया पार्टनर जनसवाल पब्लिकेशन रहेको थियो।
कागको आवाज हुबहु निकाल्न सक्ने विशेष खुबी भएका दुलालले विगत २३ वर्षदेखि काग तिहारका अवसरमा नियमित रूपमा काग सम्मेलन गर्दै आएका छन्। उनले कागसहित १७३ प्रकारका जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने कला प्रस्तुत गर्दै आएका छन्। मुखकै सहायताले विभिन्न बाजाको धुनसमेत निकाल्न सक्ने उनको कला दर्शकका लागि विशेष आकर्षण बन्ने गरेको छ।
दुलालका अनुसार कागलाई बोलाउँदा उसको स्वभाव र भाषा बुझेर आवाज निकाल्नुपर्छ। कागसँग उसकै भाषामा संवाद गरेपछि आकर्षित भएर उनीहरू आउने उनको अनुभव छ। उनले विगतमा रत्नपार्क र नारायणहिटी दरबार संग्रहालयलगायत विभिन्न स्थानमा सम्मेलन आयोजना गर्दै आएका छन्।
नेपाली हिन्दू परम्परामा यमपञ्चकको पहिलो दिन काग तिहार मनाइन्छ। कागलाई यमराजको दूतका रूपमा मानिने धार्मिक विश्वासअनुसार यस दिन मीठा खानेकुरा दिएर पूजा गर्ने चलन छ। प्रकृतिको सरसफाइ र वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण भूमिका खेल्ने कागको सम्मानमा यो पर्व मनाइन्छ।
काग तिहारको परम्परालाई कलाकारितासँग जोडेर निरन्तरता दिँदै आएको दुलालको अभियानले चराचुरुङ्गी संरक्षण, जैविक विविधता र नेपाली मौलिक संस्कृतिको महत्त्व नयाँ पुस्तामाझ पुर्याउने सन्देश दिएको आयोजकले जनाएको छ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!