तिथि घटबढले आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन

तिथि घटबढले आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन मनाइँदै छ। तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एउटै दिन परेको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारको साइतअनुसार आज बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ। आजकै दिन नरक चतुर्दशीसमेत परेको छ। 

कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो रक्षकका रूपमा सम्मान गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा छ। यस अवसरमा कुकुरलाई फूलको माला लगाइदिने, निधारमा टीका लगाउने र मीठा परिकार खुवाएर पूजा गर्ने गरिन्छ। धार्मिक मान्यताअनुसार यमलोकको द्वारमा श्याम र सबल नामका दुई कुकुरले पहरा दिने विश्वास छ।

त्यसैगरी आज साँझ धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ। घरआँगन सफा गरी दीप प्रज्वलन गर्ने, झिलिमिली बत्ती बाल्ने र घरमा लक्ष्मीको स्वागत गर्ने परम्परा छ। लक्ष्मीपूजाका अवसरमा बजार तथा घरहरूमा विशेष चहलपहल देखिने गरेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कात्तिक २३ गते सोमबार गाईपूजा, २४ गते मंगलबार गोरुपूजा, गोवर्धन पूजा तथा म्हपूजा मनाइनेछ। तिहारको अन्तिम दिन कात्तिक २५ गते बुधबार भाइटीका परेको छ। भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP