भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने

भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएर भाइटीका पर्व मनाउँदै छन्।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका दिदीबहिनी र दाजुभाइबीचको प्रेम, आत्मीयता र आपसी सम्बन्धको प्रतीकका रूपमा लिइन्छ। यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने धार्मिक तथा सांस्कृतिक परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। यद्यपि, साइतमा टीका लगाउन नभ्याउनेले दिनभर भाइटीका लगाउन सक्ने समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिको भनाइ छ।

समितिका अनुसार यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व फर्कने र टीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्नेछ। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यताअनुसार यस्तो दिशा निर्धारण गरिएको हो।

आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्ने भएकाले दिदीबहिनी पूर्व र दाजुभाइ पश्चिम फर्केर टीका लगाउँदा चन्द्रमा दाहिने पर्ने समितिले जनाएको छ। चन्द्रमा तुला राशिमा रहँदा पनि यही दिशाअनुसार टीका लगाउन सकिनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP