चिसापानीगढी दुर्घटनामा १० जनाको मृत्यु पुष्टि, पाँच घाइते

चिसापानीगढी दुर्घटनामा १० जनाको मृत्यु पुष्टि, पाँच घाइते

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको भीषण सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

आज बिहान ६ बजेर १० मिनेटमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनाका बेला गाडीमा १५ जना सवार रहेको खुलेको छ। दुर्घटनामा परी १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

दुर्घटनाको खबर प्राप्त हुनासाथ घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ। दुर्घटनास्थल भिरालो र गहिरो भएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ।

प्रारम्भिक विवरणअनुसार दुर्घटनामा परेको गाडी विद्युतीय सवारी (ईभी) रहेको छ। गाडी दुर्घटनामा पर्नुको कारण खुल्न सकेको छैन। मृतकहरूको पहिचान, घाइतेहरूको अवस्था तथा दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।

यस दुर्घटनाबारे सशस्त्र प्रहरी र सुरक्षा निकायबाट प्राप्त विवरणलाई आधार मानेर मृत्यु हुनेको संख्या १० र घाइतेको संख्या पाँच पुष्टि भएको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP