वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो, धान र मकैको आयातमा ठूलो गिरावट !

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो, धान र मकैको आयातमा ठूलो गिरावट !

काठमाडौं । नेपालको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै हुने खाद्यान्न आयातमा उल्लेख्य गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खाद्यान्न आयात करिब ६३ प्रतिशतले घटेको हो।

वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म वीरगञ्ज नाका हुँदै चामल, धान, मकै, गहुँ, माल्ट, फापर र कोदोलगायत खाद्यान्न तीन करोड १६ लाख ४० हजार किलो आयात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आठ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो।

विशेषगरी धान र मकैको आयातमा ठूलो गिरावट देखिएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा तीन करोड ९१ लाख किलो धान आयात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्रै आयात भएको छ। धान आयातको मूल्यसमेत एक अर्ब ४६ करोड २८ लाख रुपैयाँबाट घटेर ३३ करोड ३५ लाख रुपैयाँमा झरेको छ।

यस्तै, फापर, कोदो तथा अन्य खाद्यान्नको आयात पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा २३ लाख ४१ हजार ६५५ किलो आयात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा १६ लाख ४० हजार ५५५ किलोमा सीमित भएको छ।

तर, गहुँको आयात भने चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९५ लाख ५४ हजार किलो पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा गहुँ आयात नभएको भन्सार तथ्याङ्कले देखाएको छ।

खाद्यान्न आयातमा आएको गिरावटले नेपालको वैदेशिक व्यापार र खाद्यान्न आपूर्तिको अवस्थाबारे नयाँ प्रश्नसमेत खडा गरेको छ। यद्यपि, वीरगञ्ज नाकाबाट मात्रै आयात घटेको तथ्याङ्कका आधारमा देशभर खाद्यान्न आयात घटेको वा स्वदेशी उत्पादन बढेको निष्कर्ष निकाल्न सकिँदैन। यसका लागि अन्य भन्सार नाकाबाट भएको आयात, स्वदेशी उत्पादन र बजारको मागसमेत विश्लेषण गर्नुपर्ने देखिन्छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले सार्वजनिक गरेको तथ्याङ्कका आधारमा खाद्यान्न आयातमा यस्तो गिरावट देखिएको हो। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP