६५ वर्ष पुगेपछि कैदमा छुट, टोपबहादुर रायमाझी रिहा

६५ वर्ष पुगेपछि कैदमा छुट, टोपबहादुर रायमाझी रिहा

काठमाडौ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद छुट पाएपछि कारागारबाट रिहा भएका छन्। ६५ वर्ष उमेर पूरा भएपछि कैद सजायमा छुट पाउने कानुनी प्रावधानअनुसार रायमाझी रिहा भएका हुन्।

काठमाडौं जिल्ला अदालतको आदेशअनुसार डिल्लीबजार कारागारले उनलाई मुक्त गरेको हो। रायमाझीले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा १२ अनुसार कैद छुटको सुविधा माग गर्दै अदालतमा निवेदन दिएका थिए।

उक्त ऐनमा ६५ वर्ष उमेर पूरा भई ७० वर्ष ननाघेका ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशतसम्म छुट दिन सकिने व्यवस्था छ। त्यस्तै ७० देखि ७५ वर्षसम्मका व्यक्तिलाई ५० प्रतिशतसम्म र ७५ वर्ष उमेर पूरा गरेकालाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने प्रावधान छ।

तर ६५ वर्ष उमेर पुगेकै आधारमा सबै व्यक्ति स्वतः जेलमुक्त हुने कानुनी व्यवस्था भने छैन। सम्बन्धित कसुर, उमेर र कानुनी प्रक्रियाका आधारमा कैद छुटको निर्णय हुने व्यवस्था छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका रायमाझीको रिहाइसँगै ज्येष्ठ नागरिकसम्बन्धी ऐनले दिएको कैद छुटको व्यवस्था र यसको कार्यान्वयनबारे सार्वजनिक बहस सुरु भएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP