बालेनको निर्देशन : चीन भ्रमण घुमघाममा होइन, राष्ट्रिय हितमा केन्द्रित होस्

बालेनको निर्देशन : चीन भ्रमण घुमघाममा होइन, राष्ट्रिय हितमा केन्द्रित होस्

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको चीन भ्रमणलाई औपचारिक भ्रमण र घुमघाममा मात्र सीमित नराखी नेपालको राष्ट्रिय हित र विकासका सम्भावनासँग जोड्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री शाहले चीन भ्रमणमा जाने सांसदहरूलाई त्यहाँको प्रविधि, व्यापार, अर्थतन्त्र, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा भएका प्रगतिको अध्ययन गर्न आग्रह गरेका हुन्। चीनले विभिन्न क्षेत्रमा हासिल गरेको उपलब्धिबाट नेपालले कसरी लाभ लिन सक्छ भन्ने विषयमा गम्भीर अध्ययन गर्न पनि उनले सुझाव दिएका छन्।

प्रधानमन्त्रीले भ्रमणका क्रममा चीनसँग नेपालको आर्थिक तथा प्राविधिक सहकार्य विस्तार गर्ने सम्भावनालाई प्राथमिकतामा राख्न जोड दिएका छन्। विशेषगरी आधुनिक प्रविधिको प्रयोग, कृषि उत्पादनमा वृद्धि, पर्यटन प्रवर्द्धन, व्यापार विस्तार र आर्थिक विकासका क्षेत्रमा चीनको अनुभव नेपालका लागि उपयोगी हुन सक्ने उनको भनाइ छ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका १८ सदस्यीय प्रतिनिधिमण्डल आइतबार चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा चिनियाँ पक्षसँग विभिन्न विषयमा छलफल तथा अनुभव आदानप्रदान गर्ने तयारी रहेको छ।

नेपाल र चीनबीचको सम्बन्धलाई विकास र आर्थिक सहकार्यका नयाँ अवसरसँग जोड्न सकिने भएकाले भ्रमणलाई उपलब्धिमूलक बनाउनुपर्ने प्रधानमन्त्री शाहको जोड छ। उनले सांसदहरूलाई चीनमा देखेका र सिकेका विषयलाई नेपालको आवश्यकता र सम्भावनासँग तुलना गरी व्यावहारिक निष्कर्ष निकाल्नसमेत आग्रह गरेका छन्।

प्रधानमन्त्रीको निर्देशनअनुसार भ्रमणबाट प्राप्त अनुभव र जानकारीलाई नेपालको नीति निर्माण, विकास योजना तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका लागि उपयोग गर्न सकिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP