चर्चामा
काठमाडौँ । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक जेलबाट रिहा भई बाँकी सजाय घरमै नजरबन्दमा बिताउन थालेका छन्। अदालतको आदेशपछि ७३ वर्षीय रजाकलाई मंगलबार क्वालालम्पुरस्थित निवासमा स्थानान्तरण गरिएको हो। उनी भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएपछि चार वर्षदेखि जेलमा थिए।
रजाक मलेसियाको सरकारी लगानी कोष ‘वान मलेसिया डेभलपमेन्ट बेरहाड’ (१एमडीबी) सँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएका थिए। उक्त कोषबाट अर्बौँ अमेरिकी डलर दुरुपयोग भएको आरोप लागेको थियो। सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री रहेका रजाकले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन्।
सन् २०२० मा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको थियो। सन् २०२४ मा राजदरबारको क्षमादान बोर्डले सजाय घटाएर ६ वर्ष कायम गरेको थियो। त्यसपछि राजाले सर्तसहितको क्षमादान दिँदै बाँकी सजाय घरमै बिताउन सक्ने व्यवस्था गरेका थिए। उक्त सुविधाका लागि तोकिएको ५ करोड रिंगिट जरिवाना भुक्तानी गरेपछि पनि कानुनी प्रक्रियाका कारण उनको स्थानान्तरण केही समय रोकिएको थियो।
नोभेम्बर १० मा क्वालालम्पुर उच्च अदालतले नयाँ आदेश जारी गरेपछि उनलाई घरमै नजरबन्दमा राख्ने बाटो खुलेको हो। अदालतको आदेशअनुसार उनले सन् २०२८ अगस्ट २३ सम्म घरमै बाँकी सजाय बिताउनुपर्नेछ।
कडा सर्तसहित नजरबन्द :
मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इस्माइलका अनुसार नजरबन्दमा रहेका रजाकले राजनीतिक गतिविधिमा सहभागी हुन, सार्वजनिक कार्यक्रममा जान तथा सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिन पाउने छैनन्। तोकिएको निवास छाड्न पनि लिखित अनुमति लिनुपर्नेछ। आगन्तुक भेट्नसमेत पूर्वस्वीकृति आवश्यक पर्नेछ।
यी सर्त उल्लङ्घन गरे उनलाई पुनः जेल पठाउन सकिने सरकारले जनाएको छ।
रजाकविरुद्ध १एमडीबीसँग सम्बन्धित अर्को भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा पनि १५ वर्षको जेल सजाय सुनाइएको छ। उक्त सजायविरुद्ध उनले पुनरावेदन गरेका छन्। त्यसैले घरमै नजरबन्दको सुविधा पाए पनि उनका कानुनी चुनौती भने समाप्त भएका छैनन्।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!