चर्चामा
काठमाडौँ । सन् १९६० मा वैज्ञानिकहरूले गरेको एउटा चर्चित भविष्यवाणीअनुसार आज अर्थात् १३ नोभेम्बर २०२६ मा संसारको जनसङ्ख्या अनियन्त्रित रूपमा बढेर असम्भव अवस्थामा पुग्ने अनुमान गरिएको थियो। तर उक्त मिति आइपुग्दा पनि संसारमा त्यस्तो कुनै विनाशकारी घटना भएको छैन। वैज्ञानिकहरूको उक्त अनुमान गलत साबित भएको छ।
अमेरिकी वैज्ञानिक जर्मन मूलका भौतिकशास्त्री हाइन्ज भोन फोर्स्टर, प्याट्रिसिया मोरा र लरेन्स एमियटले सन् १९६० मा प्रतिष्ठित विज्ञान पत्रिका ‘साइन्स’ मा प्रकाशित अनुसन्धानपत्रमार्फत यस्तो गणितीय अनुमान सार्वजनिक गरेका थिए।
उनीहरूले विगत दुई हजार वर्षको जनसङ्ख्या वृद्धिको तथ्यांक अध्ययन गर्दै यही गति निरन्तर कायम रहे सन् २०२६ नोभेम्बर १३ मा विश्वको जनसङ्ख्या गणितीय रूपमा अनन्त हुने निष्कर्ष निकालेका थिए। उक्त दिनलाई अनुसन्धानपत्रमा ‘डूम्सडे’ अर्थात् विनाशको दिनका रूपमा उल्लेख गरिएको थियो।
वैज्ञानिकहरूको अनुमानअनुसार तीव्र जनसङ्ख्या वृद्धिले भविष्यमा मानव सभ्यतामै गम्भीर संकट निम्त्याउन सक्ने चेतावनी दिइएको थियो। उनीहरूले भविष्यका पुस्ता भोकमरीले मात्र नभई अत्यधिक जनसङ्ख्याको चापले समेत संकटमा पर्ने बताएका थिए।
तर पछिल्ला दशकमा विश्वको जनसङ्ख्या वृद्धिदर अपेक्षाअनुसार तीव्र हुन सकेन। सन् १९६३ मा विश्वको जनसङ्ख्या वृद्धिदर करिब २.३ प्रतिशत पुगेपछि क्रमशः घट्दै गएको तथ्यांकले देखाउँछ।
स्वास्थ्य सेवामा सुधार, बाल मृत्युदरमा कमी, शिक्षाको विस्तार, सहरीकरण तथा जन्मदरमा आएको गिरावटले जनसङ्ख्या वृद्धिको पुरानो गणितीय अनुमानलाई गलत साबित गरेको हो।
संयुक्त राष्ट्रसङ्घको सन् २०२४ को विश्व जनसङ्ख्या प्रक्षेपणअनुसार सन् २०२४ मा विश्वको जनसङ्ख्या करिब ८ अर्ब २० करोड थियो। यो संख्या सन् २०८० को दशकको मध्यतिर करिब १० अर्ब ३० करोड पुगेर क्रमशः घट्न सक्ने अनुमान गरिएको छ।
अस्ट्रेलियन प्रसारण संस्था एबीसीले नोभेम्बर १३ मा प्रकाशित गरेको समाचारमा पनि ६६ वर्षअघि गरिएको उक्त भविष्यवाणी पूरा नभएको उल्लेख गरेको छ। जनसङ्ख्या वृद्धिको विगतको प्रवृत्तिलाई भविष्यमा पनि उस्तै रहने मानेर गरिएको अनुमान नै गलत हुनुको प्रमुख कारण रहेको विज्ञहरूले बताएका छन्।
यससँगै सामाजिक सञ्जालमा १३ नोभेम्बर २०२६ मा संसार समाप्त हुने भन्दै फैलिएका दाबीमा कुनै वैज्ञानिक आधार नरहेको स्पष्ट भएको छ। वैज्ञानिकहरूको मूल अनुसन्धान पनि पृथ्वी भौतिक रूपमा ध्वस्त हुने भविष्यवाणी नभई जनसङ्ख्या वृद्धिको गणितीय अनुमानमा आधारित थियो।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!