अमेरिकाको हवाई उड्डयन प्रणालीमा एकाएक समस्या, हजारौँ उडान प्रभावित

अमेरिकाको हवाई उड्डयन प्रणालीमा एकाएक समस्या, हजारौँ उडान प्रभावित

काठमाडौ ।अमेरिकाको हवाई यातायात नियन्त्रण प्रणालीमा आएको प्राविधिक समस्याले देशभरको हवाई सेवा प्रभावित भएको छ। सञ्चार प्रणालीमा समस्या देखिएपछि उडान सञ्चालनमा अवरोध उत्पन्न भएको र हजारौँ यात्रु अलपत्र परेको विवरण सार्वजनिक भएको छ।

यो घटनाले विश्वकै अत्याधुनिक हवाई यातायात प्रणाली मानिने अमेरिकी उड्डयन व्यवस्थाको प्राविधिक सुरक्षा र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

तर, अमेरिकी अधिकारीहरूले यो साइबर आक्रमण भएको पुष्टि गरेका छैनन्। अमेरिकी गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले प्रारम्भिक अवस्थामा कुनै शत्रुतापूर्ण आक्रमणको संकेत नदेखिएको बताएका छन्। समस्या दूरसञ्चार प्रणालीमा आएको अवरोधसँग सम्बन्धित रहेको उनको भनाइ छ। 

अमेरिकी अधिकारीहरूका अनुसार आकाशमा उडिरहेका विमानको अवस्था सुरक्षित रहेको सुनिश्चित गरिएको थियो। तर उडान नियन्त्रण केन्द्रहरूबीच सञ्चारमा समस्या देखिएपछि यात्रु तथा विमानको सुरक्षालाई ध्यानमा राख्दै उडान रोक्ने निर्णय गरिएको हो। 

प्रारम्भिक विवरणअनुसार कम्तीमा ६०० उडान अन्य विमानस्थलतर्फ मोडिएका थिए भने हजारौँ उडान ढिला तथा रद्द भएका थिए। युरोपबाट अमेरिकातर्फ जाने केही उडानसमेत रोकिएका थिए। 

अमेरिकी उड्डयन इतिहासमा यस्तो देशव्यापी उडान रोक्ने निर्णय निकै दुर्लभ मानिन्छ। यसअघि सन् २०२३ मा पनि उड्डयन प्रणालीमा आएको प्राविधिक खराबीका कारण देशभर उडान प्रभावित भएका थिए।

घटनाको वास्तविक कारण पत्ता लगाउन अमेरिकी उड्डयन प्रशासनका प्राविधिक टोलीले अनुसन्धान गरिरहेका छन्। यस घटनाले अत्याधुनिक प्रविधिमा निर्भर विश्वको हवाई यातायात प्रणालीमा एउटा सामान्य सञ्चार अवरोधले समेत कति ठूलो संकट निम्त्याउन सक्छ भन्ने देखाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP