दक्षिणकाली–हेटौँडा सडकमा राति सार्वजनिक गाडी चलाउन रोक, बिहान ५ देखि मात्रै सञ्चालन अनुमति

दक्षिणकाली–हेटौँडा सडकमा राति सार्वजनिक गाडी चलाउन रोक, बिहान ५ देखि मात्रै सञ्चालन अनुमति

काठमाडौं । दक्षिणकाली हुँदै हेटौँडा जाने सार्वजनिक यात्रुवाहक सवारीसाधनको सञ्चालनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ समयसीमा निर्धारण गरेको छ।
सडक दुर्घटना बढ्दै गएपछि यात्रुको सुरक्षा र सम्भावित मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्रशासनले रात्रिकालीन सवारी सञ्चालनमा कडाइ गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनाअनुसार अब बल्खुबाट दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक तथा भाडाका सवारीसाधन बिहान ५ बजेपछि मात्रै सञ्चालन गर्न पाइनेछ। त्यस्तै, काठमाडौंबाट हेटौँडातर्फ जाने त्यस्ता सवारीसाधन बेलुका ८ बजेसम्ममा फर्पिङ प्रहरी चेकपोस्ट पुगिसक्नुपर्ने व्यवस्था गरिएको छ। 

प्रशासनले कात्तिक २८ गते नै पुनः संशोधित सूचना जारी गर्दै यसअघि तोकिएको समयसम्बन्धी व्यवस्था सच्याएको छ। संशोधित सूचनाअनुसार हेटौँडातर्फ जाने यात्रुवाहक सार्वजनिक सवारीसाधन बेलुका ५ बजेसम्ममा बल्खुबाट छुटिसकेको हुनुपर्नेछ। 

प्रशासनका अनुसार साँघुरा तथा घुम्ती सडक, भिरालो भूभाग, तीव्र गति, चालकको लापरबाही, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था र रातिको समयमा हुने जोखिम दुर्घटनाका प्रमुख कारण हुन्। एकै दिनमा धेरै पटक यात्रा गर्नुपर्ने दबाबका कारण चालकमा अत्यधिक थकान र अनिद्राको समस्या देखिएको पनि प्रशासनले जनाएको छ।

त्यस्तै, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी चलाउने गरेको गुनासोसमेत प्राप्त भएको प्रशासनको सूचनामा उल्लेख छ।

प्रशासनले यात्रुवाहक सवारीसाधन सञ्चालन गर्नुअघि अनिवार्य रूपमा यान्त्रिक अवस्था परीक्षण गर्न र उक्त सडकखण्डमा पर्ने प्रहरी तथा ट्राफिक प्रहरीलाई नियमित अनुगमन र कडाइका साथ जाँच गर्न निर्देशन दिएको छ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले भने पर्याप्त अध्ययन र सरोकारवालासँग छलफल नगरी समयसीमा तोकिएको भन्दै निर्णय पुनरावलोकन गर्न माग गरेका छन्। 

सडक दुर्घटना न्यूनीकरणका लागि प्रशासनले चालेको यो कदमले यात्रु सुरक्षामा कस्तो प्रभाव पार्छ भन्ने आगामी दिनमा स्पष्ट हुनेछ। तर, समयसीमा कार्यान्वयनसँगै सडकको अवस्था सुधार, सवारीसाधनको नियमित परीक्षण र चालकको सुरक्षित कार्यतालिका सुनिश्चित गर्नु पनि उत्तिकै आवश्यक देखिन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP