१४ जनाको ज्यान लिने भीमफेदी ईभी दुर्घटनाको छानबिन गर्न सरकारद्वारा समिति गठन

१४ जनाको ज्यान लिने भीमफेदी ईभी दुर्घटनाको छानबिन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं। मकवानपुरको भीमफेदीमा १४ जनाको ज्यान जाने गरी भएको भीषण विद्युतीय सवारी (ईभी) दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ। मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठन गरिएको समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

समितिले दुर्घटनामा परेको सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राखिएको थियो वा थिएन, सवारीको रुट इजाजत, चालकको शारीरिक तथा मानसिक अवस्था र सडकको भौतिक अवस्थाबारे अनुसन्धान गर्नेछ।

गत बिहीबार बिहान काठमाडौंको बाटो हुँदै सर्लाही जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।

मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका र एक जना चालक सर्लाहीकै कविलासी नगरपालिकाका थिए।

सरकारका अनुसार घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी तीन जनाको चितवन र ललितपुरका अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि सवारीसाधनको प्राविधिक अवस्था, चालकको थकान, यात्रु क्षमताको पालना र सडक सुरक्षामाथि गम्भीर प्रश्न उठेका छन्। समितिले यी विषयको अनुसन्धान गरी भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुझावसमेत सरकारलाई दिनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP