सरकारी बिदाले फेरि रोकियो दानबहादुर कार्कीको न्यायिक लडाइँ, सर्वोच्चको नयाँ मिति कुर्दै

सरकारी बिदाले फेरि रोकियो दानबहादुर कार्कीको न्यायिक लडाइँ, सर्वोच्चको नयाँ मिति कुर्दै

काठमाडौं । नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पुनर्बहालीसम्बन्धी रिटमाथिको सुनुवाइ फेरि प्रभावित भएको छ। सरकारले छठ पर्वको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि सर्वोच्च अदालतमा तोकिएको सुनुवाइ स्थगित हुने भएको हो।

प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारी निर्णयविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्दै आफूलाई पुनर्बहाली गर्न माग गरेका थिए। उक्त रिटमाथि प्रारम्भिक सुनुवाइका लागि कात्तिक ३० गते सोमबारको पेशी तोकिएको थियो।

तर सरकारले उक्त दिन सार्वजनिक बिदा घोषणा गरेपछि कार्कीको रिटसहित त्यस दिनका लागि निर्धारित अन्य मुद्दाको सुनुवाइसमेत प्रभावित हुने भएको छ।
अब सर्वोच्च अदालत खुलेपछि स्थगित मुद्दाको नयाँ पेशी मिति निर्धारण हुनेछ। तर कार्कीको रिटका लागि नयाँ मिति कहिले तोकिन्छ भन्नेबारे अहिलेसम्म निश्चित भइसकेको छैन।

सरकारले पदावधि बाँकी रहँदै कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। उक्त निर्णयलाई चुनौती दिँदै उनी न्यायिक उपचारका लागि सर्वोच्च अदालत पुगेका हुन्।

कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइ हुनुअघि नै सार्वजनिक बिदाका कारण प्रक्रिया प्रभावित भएपछि उनको पुनर्बहालीसम्बन्धी कानुनी लडाइँ थप लम्बिने देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP