चर्चामा
गोरखा । उत्तरी गोरखाको धार्चे क्षेत्रमा लगातार सुक्खा पहिरो खस्न थालेपछि बूढीगण्डकी नदी आसपास जोखिमको चिन्ता बढेको छ। धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङ र यारुबगर क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो खसेपछि स्थानीय प्रशासन र सुरक्षा निकाय सतर्क बनेका छन्।
शनिबार बिहान करिब साढे ८ देखि ९ बजेको बीचमा गुन्द्रुङ पाखाबाट ढुंगासहितको ठूलो ढिस्को खसेको थियो। पहिरोको धुलोले केही समय आसपासको क्षेत्र ढाकेको थियो भने ठूलो आवाजसहित ढुंगा र माटो खसेको स्थानीयले बताएका छन्।
प्रहरीका अनुसार पहिरो गएको क्षेत्रमा बस्ती नभएकाले मानवीय तथा भौतिक क्षति भएको छैन। पहिरोबाट खसेका केही ढुंगा र माटो बूढीगण्डकी नदीसम्म पुगे पनि नदीको बहाव अवरुद्ध भएको छैन।
धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पहिरो खसेको क्षेत्र फराकिलो पाखा भएकाले तत्काल नदी थुनिने अवस्था नरहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक अनुपकुमार खड्काले पनि नदीमा केही छिटपुट ढुंगा तथा माटो पुगेको भए पनि नदी थुनिने अवस्था नरहेको जानकारी दिएका छन्।
तर पछिल्लो समय उत्तरी गोरखाका विभिन्न स्थानमा सुक्खा पहिरो दोहोरिन थालेपछि यसले निम्त्याउन सक्ने सम्भावित जोखिमप्रति चासो बढेको छ। यसअघि चुमनुब्री गाउँपालिकाको उङ्गिलुङ, सेराङ गुम्बा जाने सडक र साम्दो क्षेत्रमा समेत सुक्खा पहिरोका घटना भएका थिए। असोज २५ गते उङ्गिलुङ क्षेत्रमा गएको पहिरोले बूढीगण्डकीमा ठूलो बाढीसमेत निम्त्याएको थियो।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले आइतबार गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरेको छ। सम्भावित वर्षाले पहिरो प्रभावित क्षेत्रमा थप असर पार्न सक्ने भएकाले सतर्कता आवश्यक देखिएको छ।
पहिरोको तत्काल जोखिम नरहेको स्थानीय प्रशासनको भनाइ रहे पनि उत्तरी गोरखामा पटकपटक दोहोरिने यस्ता घटनाले नदी आसपासका बस्ती, सडक तथा पूर्वाधारको दीर्घकालीन सुरक्षामाथि गम्भीर ध्यान दिनुपर्ने अवस्था देखिएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!