चर्चामा
अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा आएको प्राविधिक समस्याका कारण हजारौँ आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। उडान नियन्त्रण गर्ने सञ्चार प्रणालीमा समस्या देखिएपछि अमेरिकी संघीय उड्डयन प्रशासन (FAA) ले देशभरका विमानस्थलबाट हुने उडान अस्थायी रूपमा रोक्न निर्देशन दिएको थियो।
नोभेम्बर १३ मा सुरु भएको उक्त अवरोधका कारण शुक्रबार मात्रै करिब ९ हजार २०० उडान रद्द भएका थिए भने ७ हजार ५०० भन्दा बढी उडान ढिला भएका थिए। नोभेम्बर १४ मा पनि ६ हजार ४०० भन्दा बढी उडान रद्द र ८ हजारभन्दा बढी उडान ढिला भएको रोयटर्सले जनाएको छ।
अमेरिकी यातायातमन्त्री सेन डफीका अनुसार हवाई ट्राफिक नियन्त्रण केन्द्रमा जडान गरिएका राउटर तथा सञ्चार उपकरणमा अत्यधिक डाटा प्रवाह भएपछि प्रणालीमा अस्थिरता देखिएको थियो। यसले विमानसँगको सञ्चार र राडार सूचनामा समेत समस्या सिर्जना गरेको थियो।
यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै FAA ले करिब पाँच घण्टासम्म देशव्यापी रूपमा उडान रोक्ने निर्णय गरेको थियो। उक्त अवधिमा आकाशमा रहेका ३ हजार ५०० भन्दा बढी विमानलाई सुरक्षित रूपमा अवतरण गराइएको अधिकारीहरूले बताएका छन्।
पछि प्राविधिक समस्या समाधान भएपछि अमेरिकी हवाई क्षेत्र पुनः सञ्चालनमा ल्याइएको छ। तर विमान, चालक दल र अन्य आवश्यक जनशक्ति पुनः व्यवस्थापन गर्नुपर्ने भएकाले उडान सेवा सामान्य अवस्थामा फर्किन समय लाग्ने अधिकारीहरूको भनाइ छ।
यस घटनापछि अमेरिकी हवाई ट्राफिक नियन्त्रण प्रणालीको पुरानो प्रविधि र कमजोर पूर्वाधारमाथि पनि प्रश्न उठेको छ। यातायातमन्त्री डफीले प्रणाली आधुनिकीकरणका लागि थप ५० अर्ब अमेरिकी डलर बजेट आवश्यक रहेको बताएका छन्।
अधिकारीहरूले प्रारम्भिक अनुसन्धानमा साइबर आक्रमणको प्रमाण फेला नपरेको बताएका छन्। तर प्राविधिक गडबडीको वास्तविक कारणबारे अनुसन्धान जारी छ।
यस घटनाले अमेरिकाको हवाई यातायात क्षेत्रमा ठूलो अवरोध सिर्जना गर्नुका साथै लाखौँ यात्रुको यात्रा योजनासमेत प्रभावित पारेको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!