गुह्येश्वरीमा छठका लागि ५८० घाट निर्माण, आज साँझदेखि पूजाको रौनक

गुह्येश्वरीमा छठका लागि ५८० घाट निर्माण, आज साँझदेखि पूजाको रौनक

काठमाडौं। सूर्यदेवको उपासना र आस्थाको महापर्व छठ आज काठमाडौं उपत्यकासहित देशभर उल्लासमय वातावरणमा मनाइँदैछ। छठ पर्वको मुख्य दिन आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गर्नेछन्।

काठमाडौंस्थित गुह्येश्वरी क्षेत्रमा छठ पर्वका लागि मात्रै ५८० वटा घाट निर्माण गरिएको छ। छठ पूजाका लागि आवश्यक तयारी पूरा गरिएको छ भने व्रतालुहरूलाई रातभर घाटमै बसेर पूजा आराधना गर्न सक्ने गरी सम्पूर्ण व्यवस्था मिलाइएको छठ पूजा समिति गुह्येश्वरीले जनाएको छ।

आज दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेल गुह्येश्वरी पुग्ने कार्यक्रम रहेको छ। राष्ट्रपति पौडेलको उपस्थितिसहित गुह्येश्वरी क्षेत्रमा छठ पर्वको विशेष रौनक रहने अपेक्षा गरिएको छ।

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि व्रतालुहरू रातभर जाग्राम बसेर सूर्यदेवको आराधना गर्नेछन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि यस वर्षको छठ पर्व विधिवत् रूपमा समापन हुनेछ।

सूर्यदेव र छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरिने यस पर्वमा काठमाडौंसहित तराई–मधेशका विभिन्न जिल्ला तथा देशका अन्य क्षेत्रमा पनि श्रद्धा र उल्लासका साथ छठ मनाइँदैछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP