तिहारको भाइ मसलामा विदेशकै भर, तीन महिनामै ३ अर्बभन्दा बढीको आयात

तिहारको भाइ मसलामा विदेशकै भर, तीन महिनामै ३ अर्बभन्दा बढीको आयात

काठमाडौं, कात्तिक १२ । तिहार नजिकिँदै गर्दा बजारमा भाइ मसलाको किनमेल बढेको छ। दिदीबहिनीले भाइटीकामा दाजुभाइलाई उपहार दिने काजु, बदाम, ओखर, पिस्ता, किसमिस र छोकडाजस्ता सुक्खा फलफूलका लागि नेपाल अझै विदेशी बजारमा निर्भर देखिएको छ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म नेपालमा ३ अर्ब रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका ड्राइफ्रुट्स आयात भएका छन्। ओखर, बदाम र काजु मात्रै डेढ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ।

तीन महिनामा बोक्रासहित १४ लाख ५१ हजार किलोभन्दा बढी ओखर आयात भएको छ, जसको मूल्य ५७ करोड रुपैयाँभन्दा बढी छ। त्यस्तै, करिब ४७ करोड ६८ लाख रुपैयाँ बराबरको बदाम र ४६ करोड ५६ लाख रुपैयाँभन्दा बढीको काजु भित्रिएको छ।

नेपालमा खपत हुने ओखरको ठूलो हिस्सा चीनबाट, बदाम अमेरिकाबाट तथा काजु भियतनाम र भारतबाट आउने गरेको तथ्यांकले देखाउँछ। पछिल्लो समय भुटेको र नुनिलो काजु तथा पिस्ताको आयातसमेत बढेको छ।

यस अवधिमा ८४ करोड रुपैयाँभन्दा बढीको सुपारी र २१ करोड रुपैयाँभन्दा बढीको सुक्खा नरिवल पनि आयात भएको छ।

कृषिप्रधान देश भए पनि ओखर, बदामलगायत सुक्खा फलफूलको व्यावसायिक उत्पादन पर्याप्त नहुँदा चाडपर्वमा समेत विदेशी उत्पादनमा निर्भर रहनुपर्ने अवस्था देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP