बहराइनमा अमेरिकी राडार ध्वस्त पारेको इरानको दाबी, वासिङ्टन मौन

बहराइनमा अमेरिकी राडार ध्वस्त पारेको इरानको दाबी, वासिङ्टन मौन

काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी प्रणालीको राडारमा आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ। शुक्रबार सार्वजनिक गरिएको उक्त दाबीअनुसार इरानले दक्षिणी क्षेत्रमा रहेको आफ्नो दूरसञ्चार संरचनामाथि भएको अमेरिकी आक्रमणको जवाफमा उक्त कारबाही गरेको हो।

इरानी सरकारी समाचार संस्था इरनाका अनुसार इरानको दक्षिणी होर्मोजगान प्रान्तस्थित सिरिक क्षेत्रमा रहेको दूरसञ्चार टावरमा बिहीबार आक्रमण भएको थियो। त्यसको केही घण्टापछि अमेरिकी राडारलाई निशाना बनाइएको आईआरजीसीले जनाएको छ।

आईआरजीसीले उक्त कारबाहीलाई इरानमाथि हुने हवाई गतिविधि रोक्न अमेरिकालाई दिएको चेतावनीका रूपमा व्याख्या गरेको छ। उसले स्ट्रेट अफ होर्मुज क्षेत्रमा भइरहेको गतिविधि दोहोरिए थप सैन्य कारबाही गर्न तयार रहेको चेतावनीसमेत दिएको छ।

एसोसिएटेड प्रेस (एपी) का अनुसार बहराइनमा रहेको अमेरिकी राडार ध्वस्त भएको इरानको दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। शुक्रबारसम्म अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) र बहराइन सरकारले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएका थिएनन्।

बहराइनमा अमेरिकी नौसेनाको पाँचौँ फ्लीटको मुख्यालय रहेको छ। मध्यपूर्व क्षेत्रमा अमेरिकी नौसैनिक गतिविधिका लागि बहराइन रणनीतिक रूपमा महत्त्वपूर्ण स्थान मानिन्छ।

इरान र अमेरिकाबीच फेब्रुअरी २८ देखि सुरु भएको सैन्य द्वन्द्वले मध्यपूर्व क्षेत्रमा तनाव बढाएको छ। पछिल्लो घटनाले अमेरिका र इरानबीचको सैन्य तनाव पुनः चर्किन सक्ने चिन्ता बढाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP