कसले बदल्छ नेपाल ? रवि, गगन र बालेनको अग्निपरीक्षा !

कसले बदल्छ नेपाल ? रवि, गगन र बालेनको अग्निपरीक्षा !

नेपाली राजनीति यतिबेला एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ। नयाँ राजनीतिक शक्तिको उदय, पुरानो लोकतान्त्रिक दलभित्र नेतृत्व परिवर्तन र अप्रत्याशित रूपमा सत्ताको शिखरमा पुगेको नयाँ पुस्ताको नेतृत्व। यी तीनवटै घटनाक्रमले नेपाली राजनीतिमा नयाँ सम्भावना र चुनौती एकैसाथ जन्माएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र प्रधानमन्त्री बालेन्द्र शाह यतिबेला नेपाली राजनीतिको केन्द्रमा छन्। तीनै जनाको राजनीतिक पृष्ठभूमि फरक छ, यात्रा फरक छ र उनीहरूसामु रहेका चुनौती पनि फरक छन्। तर एउटा प्रश्न सबैका लागि साझा छ– के यी नेतृत्वले साँच्चै नेपाल बदल्न सक्छन् ?

रवि लामिछानेभन्दा गगन थापा केही महिना कान्छा छन्। तर उनीहरूको राजनीतिक यात्रा भने बिल्कुल फरक छ। गगन बाल्यकालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय हुँदै संघर्षको मैदानबाट पार्टी नेतृत्वसम्म आइपुगेका नेता हुन्। रविले भने लामो समय पत्रकारितामा बिताएपछि राजनीतिमा प्रवेश गरेका हुन्। गगनले राजनीतिभित्रै संघर्ष गर्ने अवसर पाए भने रविले राजनीतिबाहिरबाट जनताको असन्तुष्टिलाई राजनीतिक शक्तिमा रूपान्तरण गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ राजनीतिक दल हो भने नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो। तर पुरानो इतिहास र राजनीतिक विरासतले मात्रै जनताको विश्वास जोगाउन सकिँदैन भन्ने सन्देश पछिल्लो निर्वाचनले दिएको छ। विभिन्न दलका गलत राजनीतिक अभ्यास, सत्ता स्वार्थ, गुटबन्दी र जनअपेक्षाअनुसार काम गर्न नसकेको अवस्थाबाट निराश बनेका जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबैभन्दा ठूलो दल बनाएर शासन सञ्चालनको जिम्मेवारी सुम्पिएका छन्।

यो रवि लामिछानेका लागि ठूलो राजनीतिक उपलब्धि मात्रै होइन, असाधारण जिम्मेवारी पनि हो। प्रतिपक्षमा बसेर प्रश्न उठाउनु र ठूलो राजनीतिक शक्तिको नेतृत्व गर्दै जनताको अपेक्षा पूरा गर्नु फरक विषय हुन्। अब रविले भाषण र लोकप्रियताभन्दा माथि उठेर सुशासन, पारदर्शिता, जवाफदेहिता र परिणामबाट आफूलाई प्रमाणित गर्नुपर्नेछ।
अर्कोतर्फ, गगन थापाको राजनीतिक यात्रा पनि कम चुनौतीपूर्ण छैन। नेपाली कांग्रेसभित्र लामो समयदेखि प्रभाव जमाउँदै आएको पुरानो नेतृत्व र गुटगत राजनीतिलाई चुनौती दिँदै उनले पार्टीको नेतृत्व सम्हालेका छन्। शेरबहादुर देउवा समूहको प्रभाव र पार्टीभित्रको शक्ति संघर्षका बीच गगनको नेतृत्व स्थापित हुनु कांग्रेसको आन्तरिक लोकतान्त्रिक अभ्यासका लागि महत्त्वपूर्ण घटना हो। उनले पार्टीभित्रै संघर्ष र विद्रोहको बाटो रोजेर नेतृत्व परिवर्तनको सम्भावना स्थापित गरेका छन्।

गगनका लागि अबको चुनौती कांग्रेसलाई पुरानै राजनीतिक कार्यशैलीबाट मुक्त गर्दै जनताको विश्वास फर्काउनु हो। लोकतान्त्रिक गणतन्त्रको रक्षा, संविधानको सम्मान र राजनीतिक संस्थाहरूको सुदृढीकरणमा उनको भूमिका महत्त्वपूर्ण हुन सक्छ। तर यसको मूल्याङ्कन भाषणले होइन, व्यवहार र राजनीतिक निर्णयले गर्नेछ।

यसरी हेर्दा रवि र गगन नेपाली राजनीतिका दुई फरक धारबाट उदाएका सम्भावनाशील नेताका रूपमा देखिएका छन्। एकातिर नयाँ राजनीतिक शक्तिको नेतृत्व गर्दै ठूलो जनमत पाएका रवि छन् भने अर्कोतिर पुरानो लोकतान्त्रिक पार्टीभित्र संघर्ष गरेर नेतृत्वमा पुगेका गगन छन्। यी दुवैले जनताको विश्वास जोगाउन सके नेपाली राजनीतिमा भरपर्दो नेतृत्वको नयाँ आधार निर्माण हुन सक्छ।
तर प्रधानमन्त्री बालेन्द्र शाहको अग्निपरीक्षा अझै फरक र गम्भीर छ। काठमाडौं महानगरपालिकाको मेयर हुँदा होस् वा अहिले प्रधानमन्त्रीको जिम्मेवारीमा पुग्दा, बालेनले छोटो राजनीतिक यात्रामै असाधारण अवसर प्राप्त गरेका छन्। उनलाई प्राप्त भएको जनसमर्थन र जिम्मेवारी दुवै सामान्य राजनीतिक उपलब्धिभन्दा माथि छन्।
तर सत्ता प्राप्त गर्नु र सफलतापूर्वक सत्ता सञ्चालन गर्नु एउटै कुरा होइन। बालेनका लागि अहिलेको अवसर बम्पर उपहारजस्तै देखिए पनि त्यसलाई उपलब्धिमा बदल्न गम्भीर राजनीतिक सुझबुझ आवश्यक छ। सत्ता मामाको धन र फुपूको श्राद्धजस्तो सहज विषय होइन। प्रधानमन्त्रीको कुर्सीमा बसेपछि हरेक निर्णयले देशको अर्थतन्त्र, प्रशासन, लोकतान्त्रिक संस्था र नागरिकको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ।

त्यसैले बालेनले आफ्नो आक्रामक राजनीतिक शैलीलाई संयमता, अनुभव र संस्थागत जिम्मेवारीसँग जोड्न आवश्यक छ। आलोचनालाई शत्रुता होइन, सुधारको अवसरका रूपमा लिनुपर्छ। संसद्, राजनीतिक दल, प्रशासन र संवैधानिक संस्थासँग सन्तुलित सम्बन्ध कायम गर्दै अघि बढ्न सके मात्रै उनको नेतृत्व सफल हुन सक्छ।
अब नेपाली राजनीतिमा तीनवटा महत्त्वपूर्ण परीक्षा सुरु भएका छन्। रविका लागि जनताको विशाल मतलाई सुशासनमा बदल्ने परीक्षा, गगनका लागि पुरानो पार्टीलाई नयाँ विश्वास दिलाउने परीक्षा र बालेनका लागि असाधारण राजनीतिक अवसरलाई सफल शासनमा रूपान्तरण गर्ने परीक्षा।

जनताले अब आश्वासन होइन, परिणाम खोजिरहेका छन्। नेतृत्वको लोकप्रियता होइन, कामको मूल्याङ्कन गरिरहेका छन्। राजनीतिक परिवर्तनको नारा होइन, आफ्नो जीवनमा वास्तविक परिवर्तन चाहिरहेका छन्।

अन्ततः नेपाल कसले बदल्छ भन्ने प्रश्नको जवाफ कुनै एक नेताको भाषण वा लोकप्रियताले दिने छैन। रवि, गगन र बालेनले देखाउने इमानदारी, राजनीतिक परिपक्वता, लोकतान्त्रिक प्रतिबद्धता र कार्यक्षमताले दिनेछ। नेपाली जनताले दिएको यो अवसरलाई इतिहास बनाउने कि अर्को निराशामा बदल्ने, त्यो अब नेतृत्वकै हातमा छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जाडोमा किन बढी भोक लाग्छ ? यस्ता छन् ५ मुख्य कारण
1 हप्ता अगाडि

काठमाडौं । जाडो मौसममा धेरै मानिसलाई सामान्यभन्दा बढी भोक लाग्ने र पटक-पटक केही न केही खाइरहन मन लाग ...

छुटाउनुभयो कि ?

TOP